काठमाडौं, १३ मंसरि । नेपाली कांग्रेसले पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनको कार्यतालिका तय गर्ने तयारी तीव्र पारेको छ। पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँग परामर्श गरी हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
मौसमको प्रतिकूलता र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिर महिनामै सम्पन्न गर्ने योजना बनाइएको सभापति थापाले बताएका छन्। बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन गर्ने तयारी छ।
यद्यपि, जिल्ला अधिवेशनका क्रममा कुनै विशेष परिस्थिति वा बाध्यता उत्पन्न भएमा सम्बन्धित जिल्ला कार्यसमितिसँगको परामर्शमा निर्वाचन समितिले अधिवेशनको मितिमा सामान्य हेरफेर गर्न सक्ने व्यवस्था राखिएको छ।
यसैगरी, कांग्रेसले प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी गरेको छ। सातवटै प्रदेशको अधिवेशन एकै दिन आयोजना नगरी एक–दुई दिनको अन्तरालमा सञ्चालन गर्ने योजना रहेको सभापति थापाले स्पष्ट पारेका छन्।
प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू सहभागी भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले प्रदेशगत अधिवेशनका मिति फरक–फरक राख्न लागिएको हो।
जिल्ला तथा प्रदेश अधिवेशनका मितिको औपचारिक घोषणा भने निर्वाचन समितिले सम्बन्धित जिल्ला र प्रदेश समितिहरूसँग परामर्श गरेपछि भोलिसम्म गर्ने सभापति थापाले बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति तथा संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै पार्टीले संगठन विस्तार तथा सुदृढीकरणका गतिविधिलाई तीव्रता दिएको छ। कांग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठनलाई थप सक्रिय बनाउने रणनीति अघि बढाएको छ।









सिन्धुलीमा जिप दुर्घटना : चालकको मृत्यु, चार जना घाइते
भारत भ्रमणपछि चीन जाने तयारीमा प्रधानमन्त्री वालेन शाह
किन घटयो राप्रपाको क्रियाशील सदस्य संख्या ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन