काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अन्तिम समयमा रोकिएको छ। मतपत्र छपाइ तथा अन्य प्राविधिक तयारीमा ढिलाइ भएपछि बिहान ७ बजेदेखि गर्ने भनिएको मतदान पटक–पटक सारेर पनि बिहीबार हुन सकेन। केन्द्रीय निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने जनाएको छ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा विभिन्न मतदान केन्द्र तोकिएका छन्। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ।
सभापतिमा गगन र श्यामकृष्ण
उम्मेदवारी फिर्ताको समय सकिएपछि सभापतिमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। सुरुमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएर थापालाई समर्थन गर्ने बताएका थिए।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। खुला उपसभापतिका दुई पदका लागि चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र चन्द्रमोहन यादवबीच प्रतिस्पर्धा हुनेछ। देवराज चालिसे र डा. मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन्।
महामन्त्रीमा ११ जना
महामन्त्रीका तीन पदमध्ये दुई खुला र एक महिला पदमा निर्वाचन हुनेछ। खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धामा छन्।
महिला महामन्त्रीमा डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनालबीच प्रतिस्पर्धा हुँदैछ।
सहमहामन्त्रीमा ठूलो प्रतिस्पर्धा
संशोधित विधानअनुसार कांग्रेसमा १५ सहमहामन्त्री रहनेछन्। त्यसमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। निर्वाचित हुने ११ पदमा दुई खुला तथा महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपाङ्गता क्लस्टरका एक–एक पद छन्।
खुलातर्फ अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना प्रतिस्पर्धामा छन्।
महिला सहमहामन्त्रीमा नानुमैयाँ बास्तोला र प्रतिमा गौतम, आदिवासी जनजातिमा ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा, दलितमा नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’ र मानबहादुर नेपाली प्रतिस्पर्धामा छन्। दलितबाट उम्मेदवारी दिएकी लक्ष्मी परियारले भने फिर्ता लिएकी छन्।
मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ्गता क्लस्टरमा पनि क्रमशः अजयकुमार चौरसिया, अभिषेकप्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाह; जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत; तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी; अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मोहम्मद फिरदौश आलम; जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर तथा आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली प्रतिस्पर्धामा छन्।
२९७ सदस्यीय केन्द्रीय समिति
१५औँ महाधिवेशनले कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार २९७ सदस्यीय बनाएको छ। सभापति, वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्रीसहितको नयाँ संरचना बनाइएको छ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
शुक्रबार हुने मतदानबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यका लागि प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन्। सभापति पदमा पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान हुने कांग्रेसको निर्वाचन व्यवस्थाअनुसारको प्रावधान छ।
यसरी बिहीबार उम्मेदवारको अन्तिम टुंगो र मतदानको तयारीमै बिते पनि कांग्रेसको नयाँ नेतृत्व चयनको निर्णायक दिन अब शुक्रबार बनेको छ।




हिमालयन रि–इन्स्योरेन्स प्रकरण : २३ करोड ९२ लाखको बिगो, भट्टलाई मुख्य योजनाकारको आरोप
नेपालको मैदानदेखि मलेसियाको क्रिकेट व्यवस्थापनसम्म : अब विनोद दासको नयाँ जिम्मेवारी
राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद
एमालेमा विद्याको पुनरागमन : ओलीसँगको सहकार्य कि नयाँ शक्ति समीकरणको सुरुवात ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन