1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहस

मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहस
काठमाडौं, २५ असोज । मधेशी समाजमा परिवर्तन आए पनि राजनीतिक दल र नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माणको आवश्यकता औँल्याइएको छ।

शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृङ्खलाअन्तर्गत मधेश आन्दोलनको समीक्षा विषयक कार्यक्रममा जनअधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले मधेशी राजनीतिका कमजोरीलाई स्थानीय उत्पादनसँग जोड्दै सप्तरीको आँप र बरमझियाको पेडासमेत ब्रान्डिङ गर्न नसक्नु असफलताको संकेत भएको बताए। 

जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले मधेशी राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कमजोर रहेको र यही कारण पुराना दलहरू संकटमा परेको बताए।

मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डलले ७५ वर्षको राजनीतिक यात्रामा पनि मधेशी राजनीतिले सशक्त पार्टी निर्माण गर्न नसकेको टिप्पणी गरे। मधेशी जनअधिकार फोरमका संस्थापक नेताले नेतृत्व पुस्तान्तरणको अभावलाई प्रमुख समस्याका रूपमा औँल्याए।

जनता समाजवादी पार्टीबाट हालै राजीनामा दिएका विक्की यादवले समाज परिवर्तन भए पनि पुराना राजनीतिक दल नेतृत्व जोगाउनमै केन्द्रित भएको आरोप लगाए।

प्रतिष्ठानका संरक्षक संजय यादवले पुराना दलप्रतिको जनविश्वास कमजोर हुँदै गएको भन्दै नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याए। संविधानसभा सदस्य विमल केडियाले तथ्यमा आधारित बहसका लागि अनुसन्धान र डाटाबेस आवश्यक रहेको बताए। पत्रकार स्नेहा झाले नयाँ नेतृत्वले मधेशका एजेण्डा पुनःनिर्धारण गर्नुपर्ने बताइन्। युवा अभियन्ता आभाष गुरुले स्वशासनसँगै सुशासन पनि आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता सन्तोष मेहता, गायक रविराज साह, नेता तथा गायक आभाष लाभ, पत्रकार प्रतिमा चौधरी, उपप्राध्यापक रामबाबु मण्डल, मनिष मण्डल, रमण कर्णलगायत युवा राजनीतिकर्मी तथा अभियन्ताहरूको उपस्थिति थियो ।

प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेशी अभियन्ता एवं अधिवक्ता आनन्द गुप्ताले गरेका थिए । दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित उक्त संवाद शृङ्खलामा मधेश आन्दोलनको उपलब्धि, कमजोरी र आगामी राजनीतिक दिशाबारे छलफल गरिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Madhesh #taraimadhesh

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार