काठमाडौं, २४ असोज । चर्चित संगीत निर्देशक तथा गायक सन्तोष राज सहनी डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएका छन्। वीरगञ्जमा हालै सम्पन्न पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सहनी केन्द्रीय सचिव पदमा निर्वाचित भएका हुन्।
केन्द्रीय सचिवमा निर्वाचित भएपछि सहनीले पद तथा गोपनीयताको शपथसमेत लिएका छन्। महाधिवेशनबाट डा. सीके राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।
कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सहनी केही वर्षअघि औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका थिए। राजनीतिमा सक्रिय भएको छोटो समयमै पार्टीको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि उनको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सहनी नेपाली, हिन्दी तथा भोजपुरी संगीत क्षेत्रमा परिचित नाम हुन्। संगीत निर्देशक तथा गायकका रूपमा उनले भारतका हिन्दी, नेपाली तथा भोजपुरी चलचित्र तथा संगीत क्षेत्रका विभिन्न चर्चित कलाकारसँग सहकार्य गरिसकेका छन्।
हिन्दी संगीत क्षेत्रका उदितनारायण झा, दीपा नारायण झा, कुमार सानु, जावेद अली, शान, विनोद राठोड, साधना सरगम, अभिजीत भट्टाचार्य, अनुराधा पौडवाल र अलका याग्निकलगायतका कलाकारसँग उनले काम गरेका छन्। त्यस्तै, भोजपुरी चलचित्र तथा संगीत क्षेत्रमा दिनेशलाल यादव ‘निरहुआ’, खेसारीलाल यादव, पवन सिंह, रवि किशन, अक्षरा सिंह, रानी चटर्जी, काजल राघवानी, शुभी शर्मा, नीलम गिरी तथा आम्रपाली दुबेलगायतका कलाकारसँग समेत सहनीले सहकार्य गरेका छन्।
संगीत क्षेत्रमा लामो अनुभव र विभिन्न चर्चित कलाकारसँगको सहकार्यका कारण सहनीले कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
अब भने कलाकारितासँगै राजनीतिमार्फत समाज र देश निर्माणमा योगदान पुर्याउने लक्ष्यका साथ अघि बढेको सहनी बताउँछन्। उनका अनुसार कलाकारिताले आफूलाई समाजसँग नजिकबाट जोड्ने अवसर दिएको छ भने राजनीतिले जनताको समस्या, आवश्यकता र अपेक्षालाई नीतिगत तहबाट सम्बोधन गर्ने अवसर प्रदान गर्ने भएकाले राजनीतिमा सक्रिय भएका हुन्।
केन्द्रीय सचिवको जिम्मेवारी पाएसँगै सहनीले पार्टी संगठन निर्माण, जनताका आवाज राजनीतिक तहमा उठाउने तथा सकारात्मक परिवर्तनका लागि योगदान गर्ने लक्ष्य लिएका छन्।
कलाकारिता क्षेत्रबाट राजनीतिमा आएका सहनीको केन्द्रीय सचिवमा निर्वाचित हुनुलाई जनमत पार्टीको नेतृत्वमा कला, संगीत तथा सिर्जनशील क्षेत्रको प्रतिनिधित्वका रूपमा समेत हेरिएको छ। छोटो राजनीतिक यात्रामै पार्टीको केन्द्रीय सचिवजस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नु सहनीका लागि व्यक्तिगत उपलब्धिसँगै कलाकारिता क्षेत्रका लागि पनि उल्लेखनीय विषय बनेको छ।




‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठी
नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको संख्या नौ पुग्यो
कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन