1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
एमाले

एमालेमा विद्याको पुनरागमन : ओलीसँगको सहकार्य कि नयाँ शक्ति समीकरणको सुरुवात ?

एमालेमा विद्याको पुनरागमन : ओलीसँगको सहकार्य कि नयाँ शक्ति समीकरणको सुरुवात ?
काठमाडौं, २२ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सक्रिय राजनीतिमा औपचारिक रूपमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटीले उनलाई अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता बनाएपछि बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित स्थायी कमिटी बैठकमा उनी पहिलोपटक सहभागी भइन्। बैठकअघि भण्डारीले ओलीबाट पद तथा गोपनीयताको शपथसमेत लिइन्। 

भण्डारीको यो पुनरागमन सामान्य राजनीतिक जिम्मेवारीमा फर्किनु मात्रै होइन, एमालेभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व र पुस्तान्तरणको विवादसँग जोडिएको छ। २०८२ मा भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि उनको सदस्यता नवीकरणलाई लिएर ओली पक्ष र भण्डारी पक्षबीच विवाद चर्किएको थियो। ओली पक्षले प्रक्रियागत प्रश्न उठाउँदै सदस्यता ‘पेन्डिङ’मा राखेको थियो भने भण्डारी पक्षले सदस्यता विधिसम्मत रूपमा नवीकरण भइसकेको दाबी गरेको थियो। 

त्यसपछि एमालेभित्र भण्डारीको पक्षमा खुलेर आवाज उठाउने क्रम बढ्यो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत उनको सदस्यता रोक्ने निर्णयविरुद्ध फरक मत राखेका थिए। 

गत महाधिवेशनमा भण्डारीको समर्थनमा पोखरेल ओलीविरुद्ध अध्यक्षका उम्मेदवार बने। तर ओली पुनः अध्यक्ष निर्वाचित भए र पोखरेल प्यानलबाट दुई जना मात्र पदाधिकारी निर्वाचित भए। 

पछि एमालेले भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गर्‍यो र अहिले वरिष्ठ नेताको जिम्मेवारीसमेत दिएको छ। यससँगै एमालेमा नेतृत्व परिवर्तनको बहस तत्कालका लागि मत्थर भए पनि भण्डारीको नयाँ भूमिकाले ओलीपछिको नेतृत्व, पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे बहसलाई फेरि केन्द्रमा ल्याउने सम्भावना देखिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#cpnuml #uml #kpsharmaoli #bidhyadevibhandari

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार