काठमाडौं, २० असोज । आम जनता पार्टी (आजपा)ले एआईलाई लक्षित गर्दै ‘एआई एलाइन्स’ AI Alliance संगठन घोषणा गरेको छ । एआईसम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित गठन गरिएको एलाइन्सलाई देशैभर विस्तार गर्ने निर्णयसमेत आजपाले गरेको छ ।
आजपाको जनवर्गीय संगठन विशेष कमिटीका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा काठमाडौंको अनामनगरमा बसेको बैठकले एआई एलाइन्स गठन गर्ने निर्णय गरेको हो । बैठकले एआईसँग सम्बन्धित गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउँदै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको आजपा प्रवक्ता सुभाष साहले जनाएका छन् ।
प्रवक्ता साहका अनुसार एआई एलाइन्सको इन्चार्जमा बिजय यादव, सहइन्चार्जमा प्रिन्स साह र संगठन संयोजकमा साइमन साहलाई जिम्मेवारी दिइएको छ ।
बैठकमा सहभागी आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले एआईको विश्वव्यापी विकास, विस्तार र यसले समाज तथा अर्थतन्त्रमा पार्न थालेको प्रभावबारे धारणा राखेका थिए । उनले एआई अब सूचना प्रविधिको सीमित विषय मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सञ्चार, व्यापार, प्रशासन तथा रोजगारीलगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने महत्वपूर्ण प्रविधिका रूपमा विकास भइरहेको बताए ।
विश्वका विकसित मुलुकहरू एआईको विकास र प्रयोगमा तीव्र गतिमा अघि बढिरहेका बेला नेपालले पनि समयमै यसको सम्भावना पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने वैठकको निष्कर्ष छ । एआईको ज्ञान र प्रविधिबाट नेपालले लाभ लिन नसके प्रविधिको क्षेत्रमा थप पछाडि पर्ने जोखिम रहेको भन्दै आजपा अध्यक्ष साहले यसको अध्ययन, प्रयोग र जनचेतनालाई प्राथमिकता दिनुपर्ने बताए ।
आजपाका अनुसार एआई एलाइन्स गठन गर्नुको मुख्य उद्देश्य नेपालमा एआईसम्बन्धी ज्ञान र चेतना विस्तार गर्नु, नयाँ पुस्तालाई प्रविधिसँग जोड्नु तथा एआईको सकारात्मक प्रयोगमार्फत सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पु¥याउनु हो ।
एलाइन्सले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गरी एआईसम्बन्धी प्रशिक्षण, अभिमुखीकरण, अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गर्ने तयारी गरेको छ । एआईको प्रयोगबाट रोजगारी तथा स्वरोजगार सिर्जना, डिजिटल उद्यमशीलता प्रवद्र्धन र नयाँ प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ ।
त्यस्तै, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार तथा सार्वजनिक सेवामा एआईको व्यावहारिक प्रयोगको सम्भावना पहिचान गरी त्यससम्बन्धी अध्ययन र बहस अघि बढाउने योजना रहेको छ । किसानलाई कृषि सूचना तथा बजार विश्लेषणमा एआईको प्रयोगबारे जानकारी गराउनेदेखि विद्यार्थी र युवालाई अध्ययन, अनुसन्धान तथा सिर्जनात्मक क्षेत्रमा एआईको जिम्मेवार प्रयोगतर्फ आकर्षित गर्ने उद्देश्य एलाइन्सले लिएको छ ।
एआईको अवसरसँगै यसबाट उत्पन्न हुन सक्ने चुनौतीबारे समेत जनचेतना अभिवृद्धि गरिने आजपाले जनाएको छ । गलत सूचना, डीपफेक, व्यक्तिगत गोपनीयता, साइबर सुरक्षा, रोजगारीमा पर्न सक्ने प्रभाव तथा एआईको दुरुपयोगजस्ता विषयमा सार्वजनिक बहस आवश्यक रहेको आजपाले जनाएको छ ।
एलाइन्सले एआईलाई सीमित प्रविधि विज्ञको विषयमा मात्र नराखी आम नागरिकको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि प्रदेशदेखि स्थानीय तहसम्म एआईमा रुचि राख्ने युवा, विद्यार्थी, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीलाई संगठित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
आजपाले एआईलाई भविष्यको मात्र नभई वर्तमानकै महत्वपूर्ण शक्ति मान्दै यसको ज्ञान, सीप र प्रविधिलाई राष्ट्रिय विकास, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणसँग जोड्ने अभियानका रूपमा एआई एलाइन्सलाई अघि बढाउने जनाएको छ ।
वैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापा मगर, उपाध्यक्ष धनमकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव लालबाबु मन्सुरी, रन्जुकुमारी साह, सचिव विजय यादव, सहसचिव श्रीभगवान पटेल, विदेश विभाग प्रमुख बालकृष्ण सापकोटा सहित विभिन्न जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षहरुको विशेष सहभागिता रहेको थियो ।




कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्साकाे उम्मेदवारी दर्ता
राष्ट्रिय जनता पार्टी जसपा नेपालमा समाहित हुने
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?
पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमा
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन